ध्रुवे सौराहामा झुल्किनु अघि २०५० तिर हात्ती प्रजनन् केन्द्र खोरसोरका पोथी हात्तीसँग आकर्षित रोमियो हात्तीका एकदर्जन प्रेमिका थिए । चितवन निकुञ्ज विचरणको क्रममा ध्रुवेले पनि एकदर्जन बढी प्रेमिका बनाए । रोमियोले आफ्नी प्रेमिकासँग बिताएको १४ वर्षमा २४ सन्तान जन्माए ।

तर लामो समयसँगै बस्न नपाउँदा ध्रुवेका अझैपनि सन्तान हुन सकेन । उसकै उमेरको रोनाल्डो भने अहिले खोरसोरमा आफ्नो २३ औं सन्तान उत्पादन गर्न तत्पर छ ।
खोरसोरमा रहेकी रोमियाका प्रेमिका प्रेरणाकलीबाट ४ वटा, शशीकलीबाट ३ वटा, सम्शेरकलीबाट ३ वटा, सितास्माकलीबाट ३ वटा, देवीकलीबाट जुम्ल्याहा रामलक्ष्मण सहित ३ वटा, कोमलकलीबाट २ वटा, कोशीकलीबाट ३ वटा र पूजाकलीबाट ३ वटा छोराछोरी जन्मे ।
रोमियोकै सन्तानहरुले अहिले चितवन राष्ट्रिनिकुञ्जको सुरक्षा गरिरहेका छन् । प्रेमिकासित भेट्न खोरसोर आएकै बेला २०६४ सालमा रोमियोको विद्युतिय तारमा करेन्ट सर्ट भएर निधन भयो ।

त्यसपछि उसकैपछि लागेर आउने रोनाल्डो हात्तीले प्रेमिकासँग बस्ने मौका पायो । रोमियो जवान भैसक्दा रोनाल्डो केही सानो थियो । तर रोमियोसँगै सौराहा चहार्न पल्केको रोनाल्डोले आँखा छलेर पोथी हात्तीसँग बस्न भने सिकिसकेको थियो । रोमियो अगाडि हुँदा त उसले प्रेमिकाको दर्शन मुस्किलैले पाउँथ्यो । किनकी खोरसोरको तारबारसम्म सँगै आएपनि प्रेमिकासँग भेट्ने पहिलो अधिकार रोमियोले नै लिन्थ्यो । रोनाल्डोलाई उसले धपाएर जंगलै पठाइदिन्थ्यो ।

रोमियोको मृत्युपछि खोरसोरको हात्तीप्रजनन् धानेको रोनाल्डोको पनि २२ जना सन्तान भैसकेको छ । सितास्माकली,प्रेमाकली,पोथीकली,शशीकली,लक्ष्मीकली लगायतका प्रेमिकासँग विशेष नजिक छ रोनाल्डो ।

रोमियो नमर्दै जब ध्रुवे हात्ती सौराहामा २०५९ सालमा छिर्यो । तब रोमियो र रोनाल्डोसँग उसको पटक पटक लडाई पर्यो । ‘ प्रेम गर्न नपाएकै रिसमा ध्रुवेले खोरसोरको एक भाले हात्तीको खुट्टा भाँचिदियो,' खोरसोर प्रमुख रामेश्वर चौधरीले भने, '२०६२ मा ध्रुवेले नै भित्र पस्न नदिएको आक्रोशमा धिरेन्द्रगजसँग जुधेर मारि नै दियो ।' त्यसैगरि उसले २०६७ मा आफ्नी प्रेमिका चन्चलकली र सुन्दरकलीसँग बसेको रिसमा टाईगर टप्स होटलको पोलो अम्पाएर सम्शेरगजलाई मारिदिएको थियो ।
त्यति हुँदा पनि उसले सौराहा बस्ने प्रयास छाडेनन् । तर रोमियो र रोनाल्डोले सौराहा आफ्नो एरिया बनाएर ध्रुवेलाई पोष्टतिर धपाइदियो ।

त्यसपछि यता ध्रुवे सौराहाका नदेखिएको चौधरी सुनाउँछन् । उता निकुञ्जका भित्री पोष्टहरुमा भने प्रेमिकासँग भेट्न रातविरात चहारिरह्यो । खोरसोरका उसको राम्रो प्रेमिका बन्न नसकेपनि ध्रुवेपोष्टमा २०६६ सालमा सम्शेरकली र ऐश्वर्यकलीलाई उसले प्रेमिका बनायो । राति खुसुक्क आएर दुई कलीसँग प्रेमगीत गाउने उनलाई पोष्टका कर्मचारीले देखिसहेन् ।

नामै ध्रुवे राखिदिएर खेदेको खेदै गरे । तर पनि ध्रुवेले प्रेमिकासँग नजिक हुने बहाना खोज्न भने चुकेन । ध्रुवेपोष्टबाट उनी भिम्ले पोष्टकी भृकुटीकली ,पार्वतीकली र महेन्द्रकलीसँग उसको हिमचिम बढ्यो । ध्रुवे देखेर डराएजस्तो गरेपनि उनीहरुलाई ध्रुवेको संगतले प्रेमपूर्ण फाइदा गर्यो ।

त्यहाँ उसको प्रेममा कर्मचारीहरुले भाँजो हालपछि खोरिया पोष्टको डमराकलीसँग उसको प्रेम बस्यो । तर केही महिनापनि विचरण गर्न नपाउँदै खेदिएको ध्रुवेले लामीचौर पोष्टमा महेन्द्रकलीको सामिप्यता पायो ।

धपाइएका बेला भ्यालेन्टाईन डे मा २०६७ ताका टाईगर टप्सको चन्चलकलीलाई भगाएर जंगल पुर्याएको ध्रुवेको स्वभाव पोथी हात्ती प्रति निकै प्रेमिल देखिन्छ । तत्कालिन अवस्थामा निकुञ्ज सुरक्षाका लागि रहेका ४७ पोष्टमध्ये पश्चिमतिरका पोष्टका प्राय सबै पोथीहात्तीसँग उसको भेट भयो ।

निकुञ्ज छेउकै वनकट्टा, सुकेभार र बाघमारा क्षेत्रमा गत शनिबार माडी पस्नुअघि सम्शेरकली,शशीकली र पवनकलीसँग उसले केही समय व्यतित गरेको थियो । प्रजननका लागि तयार बलियो हात्ती ध्रुवेले राम्ररी प्रेमिकासँग बिताउन नपाएकै कारण उनी हिंस्रक बन्दै गए । हात्ती र निकुञ्जका कर्मचारीको अवरोधले उसलाई मानिसप्रति आक्रामक बनाएको हो ।

पटक पटक पोथीहात्तीको संसर्गमा आउन खोजेका बेला हुने अवरोधले मानिसप्रति ध्रुवे हिंसात्मक रुपले प्रस्तुत हुन थाल्यो । निकुञ्जभित्र त उसले आक्रमण गर्न सकेन । ‘तर जब माडी पस्यो त्यहाँका हतियार बिनाका मानिसमाथि उसको रिस खनियो,' खोरसोरका प्रमुख चौधरी भन्छन्, 'यहाँ पनि ध्रुवेजस्तै रोनाल्डो आएका बेला घर भत्काउने गर्छ तर हामीले छाडिदिएपछि पोथीसँग बसेर जान्छ ।'

पोथीसँग लामोसमय बस्न नपाएको ध्रुवेको आफ्नो सन्तान भने जन्मिसकेको छैन् । पोथीसँग बस्न नपाएको जंगली हात्ती खतरनाक हुने भन्दै चौधरी मर्न र मार्न तयार हुने उल्लेख गर्छन् । फलस्वरुप माडीमा दुईदम्पती सहित चारजना र अन्य क्षेत्रका समेत गरि करिव दशजना मानिसलाई यसैवर्ष ध्रुवेले मार्‍यो ।

स्थापनाकालदेखि प्रजनन् केन्द्रमा हात्तीसँग घुलमिल गरिरहेका चौधरी हात्तीको बुद्धी प्रयोग गर्न सके मानव र जंगल दुवैलाई फाइदा हुने सुनाउँछन् ।

२०४६ सालमा देशमै हात्तीको संख्या बढाउने उद्देश्यले खोरसोरमा हात्तीप्रजनन्केन्द्र स्थापना भएको थियो । केन्द्रमा हात्तीको संख्या बढाउन रोमियो,रोनाल्डो र ध्रुवे जस्ता जंगली हात्तीको ठूलो योगदान छ । कारण प्रजनन् केन्द्रमा हुर्किएका भालेहात्ती दिनभर काममा व्यस्त हुन्छ । निकुञ्जको सुरक्षा केन्द्रको खाद्यान्न र घाँस ओसारपसारै दिनजाने पालुवा भालेहरुको प्रजनन् क्षमता कमजोर रहको चौधरी उल्लेख गर्छन् ।

‘निकुञ्जमै हात्ती पुगेको छैन कसरी काम छाडेर प्रजनन्मा लगाउनु ,हात्ती जन्माउन जंगली हात्तीको विकल्प नै छैन्,' निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमक कार्की पनि स्विकार्छन् ।' तर उनी ध्रुवेलाई नमारिकन प्रजननका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुरामा अन्यौल छ ।

खोरसोरका प्रमुख चौधरी भने ३०-३५ वर्षको जवान ध्रुवेलाई मानिसले रत्याएर प्रजनन् र काम दुवैमा प्रयोग गर्न सकिन्छ भन्छन् ।‘ स्थानीय प्रशासनले हात्ती मार्न दिएको आदेशको विरुद्धमा उनी बोल्छन्, 'मार्नुहुँदैन मान्छे मान्छेसँग, पशु पशुसँग बस्न मन पराउँछन् । पहिले बस्न नदिएकैले ध्रुवे रिसाएको हो । फकाउन सके ठिक हुन्छ ।'
हात्ती प्रजनन्केन्द्र ,गिद्ध प्रजनन्केन्द्र ,गोही प्रजनन्केन्द्र,कछुवा संरक्षणकेन्द्र रहेको निकुञ्जमा यस्ता जनावरलाई सुधार गर्ने रेस्क्यु सेन्टर भने छैन ।

पटक-पटक फेला पर्ने हिंसक बाघ,गैडा र हात्तीलाई राखेर उपचार र सुधारका काम गर्न त्यस्ता सेन्टरको अवधारणा सरकारले पछ्याउन नसकेको गुनासो निकुञ्ज पदाधिकारी गर्छन् । ‘सकेसम्म मार्न त मन छैन्,‘ ध्रुवे अपरेसन'मा खटिएका रेन्जर विष्णु थपलिया भन्छन्, 'तर मानवसँगको द्धन्द्वले समस्या पारको छ ।' आगामी दिनका लागि मानव र जंगली जनावरको द्धन्द चिर्नेगरि कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ ।

संरक्षणसँगै पर्यटकसामु देखिएर जंगली जनावरले वर्षेनी २४ करोड चितवन निकुञ्जबाट कमाउँछ । तर उनीहरुको संरक्षणका लागि भने प्रभावकारी काम हुन नसकेको संरक्षणकर्मीहरु बताउँछन् ।

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

 
Top