काठमाडौँ, फागुन १२ (लुम्बिनी दर्पण) - ट्राफिक प्रहरीले काठमाडौँका फोहर सडकलाई धुने, पखाल्ने र चिटिक्क पार्ने अभियान आजदेखि सुरु गरेको छ। ट्राफिक प्रहरी महाशाखाले प्रत्येक शनिबार बिहान सो अभियान चलाउने छ। उपत्यका ट्राफिक प्रहरी महाशाखामातहत करिब ३०० जवानले दुई घन्टासम्म सडक सफाइ अभियानमा जुट्नेछन्। महाशाखाले सडक चिटिक्क पार्ने अभियान शुभारम्भको छनोट माइतीघर-पुतलीखण्डबाट बिहान ७ बजेदेखि ८ बजेसम्म सुरु गरेको हो।
महाशाखाका प्रमुख नायब प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको नेतृत्वमा करिब ३०० जवानले सो सडकमा रहेको फोहरमैला हटाउने, सडक पखाल्ने, सडकमा अव्यवस्थित रूपमा रहेका डिभाइडर मिलाउने, डिभाइडरमा ट्राफिक चिह्न र जनचेतनामूलक सन्देश टाँस्नेलगायत काम गरेका छन्। रोड फर्निचरअन्तर्गत सडक सङ्केत, रेलिङ, डिभाइडर, आइल्यान्ड, सडकलगायत सडकमा रहेका संरचना फोहर र अव्यवस्थित रहँदा दुर्घटनाको खोजिम रहने भएकाले त्यसलाई न्यून गर्न सो अभियान थालिएको महाशाखा प्रमुख अर्यालले बताए।
आगामी दिनमा महाशाखाले काठमाडौँ उपत्यकाभित्र रहेका सडकमध्ये फोहर रहेको सडकको छनोट गरी सरसफाइमा जुट्ने जनाएको छ। ट्राफिक जनशक्ति आज बिहानै पानीको ट्याङ्करसहित झाडु, कुचो, साबेल, साबुनलगायत सन्देशमूलक स्टिकर बोकी सडकमा निस्केका थिए। महाशाखाले सडकमा नयाँ भौतिक पूर्वाधार र फर्निचर स्थापना गर्न बजेट अभाव भएका कारण सडकमा जे जस्ता अवस्थामा रहेका डिभाडरलगायत संरचनालाई सफा पार्ने, सडकमा लामो समयसम्म जमेको धुलो हटाउन पखाल्ने, कुचो लगाउने लगायत काम गर्ने महाशाखाका प्रमुख अर्यालले जानकारी दिए।
महाशाखाले सो अभियानमा स्थानीय जनतालाई सामेल गराएर सडक सफा राख्नुपर्छ भन्ने दायित्वबोध गराउने लक्ष्य लिएको छ। महाशाखाले उपत्यकाको सवारी व्यवस्थापनमा सुधार ल्याउन सादा पोसाकमा प्रहरी परिचालन गर्ने, मुस्कानसहितको सेवा प्रदान गर्ने, मदकपदार्थ सेवन गरेर सवारी हाँक्ने कार्य निरुत्साहन गर्ने र सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा आरक्षित सिटको व्यवस्था गर्नुपर्ने लगायत काम सञ्चालन गर्दैआएको छ। 

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

 
Top