हरियो कपडामा लुटपुटिएको एउटा क्षतिग्रस्त अनुहार केही दिनदेखि सहरका भित्ताहरुमा छ्यापछ्याप्ती छ। नेपाली फिल्म 'धन्दा'को पोस्टरमा पोतिएको अभिनेता अर्पण थापाको उक्त अनुहारमा धेरथोर काठमाडौं र देशकै दुर्दशा छचल्किन्छ। देश र सहरको अनुहार चोटग्रस्त हुनुको दोष राजनीतिक दलहरुले एकअर्कालाई थोपरिरहेका छन्।
विचरा यो 'धन्दा'को हिरोलाई नाक-नक्सा भत्किने गरी प्रहार गर्ने चाहिँ को हो? खोतल्दै गयौं भने हिरोले खाएको चोटको हिसाबकिताब सत्ता चलाउने राजनीतिक दलहरुसँग पनि माग्नु पर्ने अवस्था छ। समाजमा बढेको बेरोजगारी, दण्डहीनता र अमानवीयताकै कारण 'धन्दा'को हिरोले यस्तो चोट खाएको हो। समाज यसरी असुरक्षित हुनुमा अहिले र विगतमा सत्ताको ठेक्का लिएका दलहरु नै बढी दोषी छन्।
{xtypo_rounded2} फिल्मः धन्दा समीक्षकः दीपेन्द्र लामा
रेटिङः पाँचमा तीन तारा
निर्देशकः सुदर्शन थापा निर्माताः बाबुराम दाहाल
लेखकः अर्पण थापा
कलाकारः अर्पण थापा, समुना केसी, कमलमणि नेपाल, ध्रुव कोइराला, पुष्कर गुरुङ आदि  {/xtypo_rounded2}

सुदर्शन थापाद्वारा निर्देशित यस फिल्ममा सोझा र निर्धा युवाहरुलाई झुठो प्रलोभन देखाएर ठगी गर्ने गिरोहको कथा छ। सत्ताको धन्दा गर्नेहरु प्रत्यक्ष देखिँदैनन्। तर, भुलभुलैयामा पारेर मुख्य पात्रका पैसा र सपना हरण गर्ने खलपात्रलाई पटकपटक झुठो आश्वासन दिने नेताहरुसँग तुलना गर्न सकिन्छ।
सबै मान्छेले आफ्नो हैसियत अनुसार धन्दा चलाउँछ। कुनै धन्दा असल हुन्छ, कुनै खराब। खराब धन्दाको शिकार भई रन्थनिएको एउटा पात्र कुन हदसम्म हिंस्रक बन्नसक्छ, यसमा देखाइएको छ।
फिल्म यसको पोस्टरजस्तै पूरै 'डार्क' भने छैन। गाउँको स्कुलमा पढाउने साधारण युवक (अर्पण), उसकी पत्नी (समुना) र आमा-बुबाबीचको 'फेमिली ड्रामा' रंगीन छ। कथाको 'थिम'भन्दा फरक आयाम र रङ यही पक्षले थप्छ।
नेपाली फिल्म भन्नेबित्तिकै नाक खुम्चाउनेहरुलाई 'धन्दा'ले केही राहत अवश्य दिन्छ। प्राविधिक प्रदूषणबाट यो धेरै हदसम्म मुक्त भएकोले पनि यस्तो आभास हुन्छ। लाउड एक्टिङ, कर्कश ब्याकग्राउन्ड, अनावश्यक अड फ्रेम छैनन्। परम्परागत 'कमर्सियल इलेमेन्ट'लाई पनि यसले नकारेको छ।
अर्पण थापा, समुना केसी, कमलमणि नेपाल, ध्रुव कोइराला, पुष्कर गुरुङजस्ता कलाकारका स्वाभाविक अभिनय फिल्मको शृंगार हो। यी कलाकार संलग्न दृश्यका संरचना ताजा छन्। स्कुलको शिक्षक कोठा, गाउँको चियापसल, कमलमणिको डेरा र अर्पणको घरजस्ता लोकेसन सजीव बनाइएको छ। इनडोर र आउटडोर दुवैखाले दृश्यको 'फिजिकल रियालिटी' सशक्त छ।
समाजका धेरै युवाले भोगिसकेको दुःखलाई मुख्य पात्रले बोकेको छ। त्यसैले उक्त पात्रमा धेरै दर्शकले आफूलाई 'रिलेट' गर्नसक्छ। नेपाली फिल्मको समस्या भनेको समाजका प्रतिनिधि पात्रहरुको अनुपस्थिति हो। उपस्थिति रहे पनि ती सतही वा कृत्रिम हुन्छन्। 'धन्दा'मा चाहिँ पात्रको निर्माणमा मिहीन श्रम झल्किन्छ।
बदला लिन सहरमा भौतारिएको अर्पणले हरेक दृश्यमा डर पैदा गर्छ। तर, उसले चाल्ने हिंस्रक कदमले गर्दा ऊप्रति सहानुभूति चाहिँ प्रकट हुँदैन। यसको दोष निर्देशक सुदर्शन र लेखक अर्पणलाई जान्छ।
अर्पण र कमलमणिबीच फोहोर कोठाभित्र चल्ने मनोवैज्ञानिक खिचातानी रचनात्मक छ। अर्पणको कुटाइबाट बच्न बेहोसीको नाटक गर्ने कमलले चरित्रलाई रोचक बनाएका छन्। उनको अभिनयमा 'टाइमिङ'को मज्जा छ।
अर्पणकी पत्नी बनेकी समुनाको अभिनय तारिफयोग्य मान्नु पर्छ। मुड र घटनाअनुसार उनले विश्वासलाग्दो प्रस्तुति दिएकी छन्। ध्रुव कोइरालाले निर्वाह गरेको एउटा जवान र रिसाहा बुबाको भूमिका नेपाली फिल्ममा नयाँ लाग्छ। अघिपछिका फिल्ममा निर्माण गरिएको बुबाको एकात्मक छवि यसले तोडिदिएको छ। दुई-तीन दृश्यमा देखिने म्यानपावरवाला पुष्कर गुरुङले पनि सम्झनायोग्य छाप राखेका छन्।
फिल्म आफूले खनेको बाटोबाट भड्किएको छैन। साइडस्टोरी वा अनगिन्ती पात्रहरुको झमेलाबाट यो उम्किएको छ। तैपनि शुभेच्छा थापा र वसन्त भट्टको पात्र र बेडसिन फिल्मको कथामा अपरिहार्य लाग्दैन।
अर्पणको विभत्स अनुहारमा मेकअपको कमाल देखिन्छ। तर, कुनै पनि फिल्म मेकअपले धानिँदैन। विभत्स अनुहार केही दृश्यमा मात्र देखाइएको भए त्यसले पात्रप्रति थप सहानुभूति जगाउँथ्यो। तर त्यो अनुहार यति धेरैचोटी देखाइएको छ कि, घिन नै लाग्छ। विरक्ति पैदा हुन्छ।
टाउकोमा खुर्पा गाडिएको, घाँटीमा रोपिएको काँटालाई हेल्मेटले ठोकेको र रगतको भेल बगेको दृश्यले फिल्ममा हिंसाको अराजकता पुष्टि गर्छ। समाजमा 'धन्दा'को भन्दा हिंसात्मक घटना भएका छन्। तर, त्यसलाई फिल्ममा कसरी उतार्ने, निर्देशकको विवेक र कलात्मक चेतमा निर्भर रहन्छ। फिल्म निर्देशक स्रष्टा भएकाले अरुभन्दा बढी विवेकशील हुनैपर्छ।
संसारमै हिंसात्मक 'कन्टेन्ट' भएको फिल्म हेर्ने दर्शकको संख्या तुलनात्मक रूपमा थोरै छ। झन् नेपालमा त अरु 'झिलझिले' फिल्मले पनि दर्शक बटुल्न नसकेको पीडा छ। यस्तो बेला 'धन्दा'जस्तो हिंसात्मक थि्रलर फिल्म बनाउनु एउटा पागल जोखिम हो। 'भिजुयल ल्यांग्वेज'को हिसाबले चाहिँ हेर्न लायकको फिल्म बनेको छ। हिंसाका कारण भने हेर्ने कि नहेर्ने, चिन्तन गर्नैपर्छ। यसमा चिनी कम, रङ कडा छ।

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

 
Top