दर्शन सापकोटा, काठमाडौं, पुस २०- सानो आकारको बचत संकलन र लगानी विस्तार गर्न बैंकहरुले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न थालेका छन्। राष्ट्र बैंकले पनि यस्तो सेवा सञ्चालनका लागि नीतिगत व्यवस्था गरेपछि बैंकहरु शाखारहित सेवा दिन तम्सिएका हुन्। राष्ट्र बैंकबाट एक दर्जन वाणिज्य बैंकले सेवा विस्तारका लागि स्वीकृति लिइसकेका छन्। त्यत्तिकै संख्यामा सेवा सञ्चालन गर्ने तयारीमा अन्य बैंकहरु छन्।

'बैंकिङ पहुँच अभिवृद्धिका लागि हामीले नीतिगत सुविधा दिएपछि सेवा विस्तार बढ्न थालेको छ,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले बिहीबार नागरिकसँग भने, 'यसमा जोखिम पनि कम हुने र दूरदराजका जनताले बैंकिङ सुविधा प्राप्त गर्ने भएकाले आगामी दिनमा थप विस्तार हुने देखिन्छ।'
शाखारहित बैंकिङ सेवा एभरेस्ट बैंकले सुरु गरेको थियो। अहिले यो सेवा मेगा बैंक नेपाल, सिटिजन्स् बैंक इन्टरनेसन, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ, बैंक अफ काठमाण्डू (बिओके) लगायतले दिन थालेका छन्। यी बैंकले सय वटाभन्दा बढी शाखारहित सेवा सञ्चालनमा ल्याइसकेका छन्।
शाखारहित बैंकिङ सेवामार्फत पैसा राख्न र झिक्न मिल्छ। केही बैंकले सानो ऋणहरु पनि उपलब्ध गराउँछन्। साथै रेमिटेन्स सेवा पनि उपलब्ध हुने भएकाले यसको प्रभावकारिता बढ्न थालेको बैंकरहरु बताउँछन्।
बैंकहरुले आफ्नो शाखाभन्दा १०-१५ किलोमिटर टाढा दुर्गम गाविसमा एजेन्टमार्फत कारोबार गर्छन्। बैंकको केन्द्रीय प्रणालीसँग जोडिएको मेसिनको माध्यमबाट कारोबार हुने गर्छ। यसले गर्दा कारोबारमा जोखिम कम हुन्छ। बैंकहरुले गाउँमा पैसाको कारोबार गरिरहने पसले, शिक्षक, गाविस सचिव वा प्रतिस्ठित व्यक्तिलाई आफ्ने एजेन्ट नियुक्त गर्छन्। एजेन्टले मेसिनको सहायताबाट ग्राहकको खाता खोल्छ। ग्राहकले खाता खोलेपछि एटिएममा प्रयोग हुनेजस्तै कार्ड पाउँछ। कार्डको माध्यमबाट ग्राहकले पैसा राख्ने र झिक्न सक्छन्।
'पैसा झिक्ने र राख्ने सेवामात्र सञ्चालन गर्दा बैंकको खर्च केही वढी हुन्छ,' मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'सानो सानो कर्जा सुविधा पनि उपलब्ध गराएपछि भने बैंकको आम्दानीमा पनि सहयोग पुग्छ।' मेगाले अहिलेसम्म २२ स्थानमा शाखारहित सेवा सुरु गरिसकेको छ। यो वर्षभित्र सेवा ४५ ठाउँमा विस्तार गर्दैछ।
'गाउँघरमा बैंकको शाखा खोल्न जाँदा धेरैनै सचेतना फैलाउनु पर्ने अवस्थामा छ,' सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत राजु नेपालले भने, 'शाखारहितमा सानो वोर्ड राखेर एजेन्टमार्फत कारोबार गर्नु पर्ने भएकाले जनतालाई वुझाउन धेरै नै मेहेनत गर्नु पर्ने हुन्छ।' सिटिजन्स्ले अहिलेसम्म ११ स्थानमा यो सेवा सञ्चालनमा ल्याइसकेको छ।
उनले भविस्यको बैंकिङ शाखारहित भएको भन्दै कम खर्चमा धेरैलाई सुविधा दिएर बैंकिङ पहुँच विस्तार गर्न यसले सहयोग गर्ने जानकारी दिए। 'नेपालमा शाखारहित अझै नौलो सेवा नै भएका कारणले विस्तारै सर्वसाधारणको उत्सुकता वढ्न थालेको छ,' नेपालले भने।
बैंकरका अनुसार, सर्वसाधारणको सहभागिता वढ्दै गइरहेका बेला यसमा प्रयोग हुने प्रविधिका कारण भने शाखारहितमा समस्या देखिने गरेको छ। साथै गाउँमा वस्ने एजेन्टको ग्राहकमैत्री वानीवेहोरा नभएमा शाखारहित सेवा चल्न कठिन हुने गरेको छ।
'प्रविधिमा एक दिन समस्या आयो भने यसबाट ग्राहक विकर्षित हुने खतरा हुन्छ,' शाहले भने, 'एजेन्टको वानी ठिक भएन भने पनि कारोबार नहुने हुन्छ।' उनले प्रविधिमा लगानीका साथै एजेन्ट छान्न मेहेनत गरे शाखारहितबाट राम्रो कारोबार विस्तार गर्न सकिने जानकारी दिए। उनले शाखारहितमा गाउँघरकै चिनेजानेको एजेन्ट हुने भएकाले ग्राहक खोज्न मेहेनत गर्नु नपरेको बताए।
शाखारहित सेवामा केही बैंकले राम्रो गर्न थालेपछि अन्य बैंकले पनि सेवा सुरु गर्ने तयारी गरेका छन्। 'शाखारहितबाट राम्रो कारोबार गर्न सकिन्छ,' किस्ट बैंकका नायव महाप्रबन्धक विएन घर्तिले भने, 'हामी पनि यो सेवा सुरु गर्ने तयारीमा छौं।' उनले यसका लागि आन्तरिक तयारी भइरहेको भन्दै २ महिनाभित्र सेवा सुरु हुने जानकारी दिए।

0 comments:

Post a Comment

Feel free to comment your important views over here.

 
Top