डी. विनोद- साउदी अरबमा काम गर्ने सिलसिलामा थला परेपछि काभ्रेका केदार दियालीको उद्धारका लागि उनका भाइ गोपाल दियालीले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा यसै साता निवेदन दिएका छन्। मजदुरी काममा रहेका केदार मौसमका कारण थला परेका हुन्। उनी काम गर्न नसक्ने भएपछि वैदेशिक रोजगारीका लागि गरेको लगानी डुब्ने निश्चित भएको छ भने उपचारका लागि पनि समस्या भएको छ। गोपालले दिएको निवेदनमा उल्लेख छ, 'बिरामी परेका केदारलाई तत्काल दूतावासबाट उद्धारका लागि पहल गरिदिन अनुरोध गरिन्छ।' बोर्डले उक्त निवेदनमाथि निगरानी राखेर परराष्ट्र मन्त्रालय पठाउने तयारी गरेको छ।
वैदेशिक रोजगारीका लागि खाडीलगायत मुलुकमा जाने नेपालीहरू कामको चाप, वातावरणको प्रतिकूलता र यातनाका कारण प्रताडित भइरहेका छन्। उनीहरूले सञ्चारका विभिन्न माध्यमबाट आफन्तलाई पीडा पोख्ने गरेका छन्। लगानी डुबे पनि आफ्नो उद्धारका लागि उनीहरूले अपिल गरिरहेका छन्। कतिपय अपिलहरू कार्यान्वयनकै क्रममा रहँदा प्रताडितहरूले मृत्युवरण समेत गर्दछन्। सुतेकै अवस्थामा मृत्यु हुनेहरू मौसमको प्रतिकूलतामा ज्यादा रहेको विभिन्न अनुसन्धानहरूले देखाएको छ। यद्यपि, उद्धारको काममा भने बोर्डले कुनै कसर बाँकी नराखेको अधिकारीहरूले बताएका छन्। कतिपय कामदारहरू बेपत्ता हुने गरेका छन् भने धेरैजना यातनाका भागीदार पनि बनेका छन्।
कुवेतमा कार्यरत फुर्पी स्याङ्वो काम गरिरहेको समयमा बेपत्ता भएकी छन्। उनको अवस्था अज्ञात भए पनि आफन्त फुलकाजी तामाङ्ले खोजीका लागि बोर्डमा निवेदन दिएका छन्। 'काम गरिरहेको ठाउँबाट हराएको हुँदा उनको खोजी गरि नेपाल फर्काउन निवेदन गर्दछु।' उनले बोर्डमा दिएको लिखित निवेदनमा उल्लेख छ। फुर्पीको अवस्थाबारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारीका लागि पत्राचार भइसकेको छ। दूतावासले खोजीको पहल गरिरहेको छ। तर, फुर्पी नेपालको कुन ठाउँकी हुन भन्नेबारेमा भने निवेदनमा पनि प्रष्टसँग खुलाइएको छैन। यद्यपि, दूतावासले स्थानीय गैर आवासीय नेपाली संस्थाको सहयोगमा खोजी कार्य अगाडि बढाएको जनाएको छ।
विदेशी भूमिमा श्रम गर्न गएका नेपाली श्रमशक्ति विभिन्न समस्यामा पर्ने गरेका छन्। परदेशको भूमिमा कामको चाप, काम लगाउने कम्पनीले लगाएको पाबन्दीलगायत विभिन्न कारणले गर्दा उनीहरूले समस्या खेप्नु परेको छ। काम गाह्रो हुँदा कम्पनी छाडेर भाग्ने गरेकाले पनि समस्या भोगिरहेका छन् धेरै नेपालीहरू। ओखलढुंगा प्राप्चा-२ का धनबहादुर कटुवालले नेपालमा सम्झौता गरेअनुसार काम नपाउँदा साउदी अरबमा यातना भोग्नु परेको छ। शारीरिक र मानसिक यातना भोगेका उनले आफन्तलाई टेलिफोन गरी आफूलाई नेपाल झिकाउनका लागि पहल गरिदिन आग्रह गरे। आफन्त केदार कार्कीले उनको उद्धारका लागि बोर्डमा लिखित निवेदन दिएका छन्। 'भनेअनुसारको कम्पनी र काम नभएपछि धनबहादुर कटुवाल पीडामा छन्, उनले यातना पाएको गुनासो गरेका छन्। उद्धारका लागि अपिल गर्दछौं।' निवेदनमा भनिएको छ, 'सम्बन्धित मुलुकको दूतावासमार्फत् उद्धार प्रक्रिया थाल्नका लागि आग्रह गरिन्छ।' धनबहादुर किष्ट इम्प्लोमेन्ट सर्भिसेस म्यानपावर कम्पनीमार्फत् अफिस क्लिनरको पदमा काम गर्न साउदी अरब पुगेका थिए। तर, उनलाई सम्झौता गरेको कम्पनीभन्दा अलग कम्पनीमा पुर्‍याएको र मालिकले यातना दिएको गुनासो पत्र समेत बोर्डमा दाखिला गरिएको छ।
हरेक दिन बोर्डमा विभिन्न समस्याका गुनासो लिएर आउने कामदार परिवारको घुइँचो लागेको छ। 'दैनिकजसो यस्ता निवेदन र गुनासाहरू बढ्न थालेका छन्। हामीले परराष्ट्रमार्फत् सम्बन्धित दूतावासलाई पत्राचार पहल गरिरहेका छौं,' बोर्ड कर्मचारी अशोक गौतम भन्छन्, 'यस्ता धेरै समस्याहरू विदेशमा भोगिरहेका आधिकारिक पत्र हामीकहाँ आउने गरेका छन्। पहुँच नभएका कतिपयले गर्न नसकेको पनि हामीले सुनेका छौं।' रोजगारीको गतिलो आकर्षण भएर पनि वैदेशिक रोजगारीका विषयमा बढेका ठगी, यातना, समस्याका उजुरी सम्बन्धित निकायमा बढ्ने गरेका छन्। वैदेशिक रोजगार विभागको उजुरी शाखामा दैनिक यस्ता उजुरीको चाङ लाग्ने गरेको छ। 'नेपालमा भएको ठगी, विदेशमा पाएको यातना र समस्याका उजुरीहरू विभागमा ज्यादा पर्दछन्, हामीकहाँ प्रक्रिया पूरा गरी उद्धारका लागि अपिल भएका पत्र आउने गरेका छन्,' गौतमले भने, 'यी त यो साता मात्र आएका निवेदनहरूका केही अंश हुन् यस्ता धेरै आवदेनहरू विभागमा परेका छन्।'

काममा जानेलाई टिप्स

-विभिन्न मान्यताप्राप्त संस्थाबाट सम्बन्धित मुलुकको कामका बारेमा अभिमुखिकरण तालिम लिएर मात्र जानु पर्दछ।
-छापिएका विज्ञापनहरूको आधिकारिकताका बारेमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा जानकारी राखेर मात्र रोजगारीमा जानुपर्छ।
-भिसा र कामको सम्पूर्ण कागजात सम्बन्धी पूर्ण जानकारी पछि मात्र लागत खर्च दिनुपर्दछ। (सरकारी निकायले तोकेअनुसार। त्यो भन्दा बढी दिनु हुँदैन।)
-मलेशियामा जान खोज्ने कामदारहरूले कमाइलाई सुरक्षित गर्न त्यहाँ सञ्चालन हुने विभिन्न प्रकारका चिट्ठा कार्यक्रम खेल्नु उपयुक्त हुँदैन। टोटो नाममा खेलाइने चिट्ठामा रकम लगानी गर्दा कमाइ गुम्ने खतरा हुन्छ।
-काममा पुगेको सम्बन्धित मुलुकको श्रमसम्बन्धी कानुनी व्यवस्था जानु अघि बुझ्नु उपयुक्त हुन्छ। गएपछि अलपत्र नपर्नका निम्ति सबै जानकारी हुनु आवश्यक छ।
-सम्झौता गरेअनुसारको कम्पनी, तलब र सुविधा भएन भने सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावास वा वैदेशिक रोजगार विभागमा तुरुन्त उजुरी गर्नुपर्दछ। विभागले स्वीकृति नदिएको म्यानपावर कम्पनीमार्फत् जानु हुँदैन।
-आफूले कारोबार गरेको म्यानपावर कम्पनी सरकारी निकायको कालो सूचीमा छ वा छैन? दर्ता छ वा छैन? भन्ने जानकारी राखे ठगीबाट बच्न सकिन्छ।
-एजेन्टहरू मार्फ्त जानुभन्दा पनि सबै बुझेर इजाजतपत्र प्राप्त कम्पनीबाट कारोबार गर्दा समस्यामा पर्ने खतरा हुँदैन।
-घरेलु कामदारमा जानेहरूले 'केयरगिभर' पाठ्यक्रमको अनिवार्य अध्ययन र तालिम लिन आवश्यक हुन्छ। अन्यथा समस्यामा परिने खतरा हुन्छ।
-जाली काजगात, जाली नागरिकता र भिसाको बारेमा राम्रोसँग बुझेरमात्र जानुपर्दछ। अन्यथा समस्यामा पर्न सकिन्छ। महिलाहरूले ३० वर्ष नपुगी घरेलु कामदारका रूपमा जान हुँदैन।

1 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Feel free to comment your important views over here.

 
Top